Mon, 10th Dec 2018

नोभेम्बरमा अन्तर्राष्ट्रिय साँस्कृतिक चलचित्र महोत्सव हुने

पहिलो अन्तर्राष्ट्रिय साँस्कृतिक चलचित्र महोत्सव । आठ विधामा अवार्ड प्रदान गरिने ।

भलाकुसारी | Published on 2018-08-20 |

आगामी नोभेम्बर महिनामा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा "प्रथम नेपाल संस्कृति अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८" को घोषणा गरिएको हो । महोत्सव नोभेम्बर २३ देखि २६ तारिखसम्म (मंसिर ७-१० गतेसम्म) काठमाडौंमा हुनेछ ।

‘महोत्सवका अवसरमा सिने मेकरहरुबीच विविध किसिमको साक्षात्कार एवम् छलफल कार्यक्रमहरु पनि गरिनेछ’, महोत्सवबारे जानकारी दिदै निर्देशक सुवर्ण थापाले भने, 'हामीले अन्तर्राष्ट्रियस्तरको एक महत्वपूर्ण चलचित्र महोत्सवको आयोजना गर्दैछौं ।'

पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा फुल लेन्थ फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, चिल्ड्रेन फिल्म, महिला सम्बन्धी चलचित्र, पव्लिक च्वाईस अवार्ड, जुरी अवार्ड, ईन्करजमेन्ट अवार्डसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।

महोत्सवमा सर्वोत्कृष्ट फुल लेन्थ फिचर फिल्मलाई ट्रफीसहित एक हजार अमेरिकी डलर नगद पुरस्कार दिईनेछ । त्यसैगरी सर्ट फिल्मलाई ट्रफीसहित २ दुई सय पचास अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ट्रफीसहित पाँच सय अमेरिकी डलर, चिल्ड्रेन फिल्मलाई ट्रफीसहित दुईसय पचास अमेरिकी डलर, र महिला सम्बन्धी चलचित्रलाई ट्रफीसहित दुईसय पचास अमेरिकी डलर नगद पुरस्कार दिईने आयोजकले जनाएको छ ।

महोत्सवमा भाग लिनको लागि जुलाई ७ देखि आवेदन खुल्ला गरिएको छ । सहभागिताको लागि संस्थाको वेबसाइटमार्फत नि:शुल्करुपमा आवेदन दिने सकिनेछ । आवेदनको अन्तिम मिति सेप्टेम्बर ७, २०१८ सम्म रहेको आयोजकको भनाइ छ ।

***


© People to People Media 2016. All rights reserved.