Sat, 16th Feb 2019

दुर्गम गाउँ व्यावसायिक दूध उत्पादनको नमुना बन्दै

रवीन्द्र काफ्ले | Published on 2019-01-22 |

पाँचथर जिल्लाको याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले दैनिक १४ लिटर दूध बेच्दै आउनुभएको छ । आफ्नो दुर्गम गाउँमा व्यावसायिक गाईपालन र दूध उत्पादन हुन्छ भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन तर, आज उहाँ नै व्यावसायिक रुपमा दूध उत्पादन गर्ने नमूना कृषक बन्नुभएको छ । 

गाईपालनसम्बन्धी पूर्ण जानकारी हासिल गर्नुभएका पोखरेलले तीन वर्षमा गाईपालनमा कुनै अप्ठेरो भोग्नु परेको छैन । “हामीलाई जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक पशुपालनबारे तालीम दिएको थियो, तालीमपछि हामीले गाईको नश्ल सुधार गरेका छौं, आजभोलि त कृत्रिम गर्भाधान समेत शुरु गरिएको छ,” पोखरेलले भन्नुभयो – “उन्नत पोषक घाँस विस्तार गरिरहेका छौं । दुईतीन वर्षमै जैया, मकैचरी, लभलभ, कोषेघाँस, इपिलिपिल जस्ता पोषक घाँसले खेत बारी ढाक्नेछन् ।” 

याङवरक–४ सिगेवाकै धनराज माबो गाउँमै कहलाएका दूध उत्पादक कृषक हुनुहुन्छ । अहिले दैनिक १४ लिटर दूध बेच्ने माबोले केही महिना अघिसम्म दैनिक १९ लिटर दूध बेच्नुहुन्थ्यो । “दैनिक ३० लिटर दूध बेच्ने मेरो लक्ष्य हो,” माबोले भन्नुभयो – व्यावसायिक हिसाबले गाईपालन गरिरहेको छु ।” माबोको चार रोपनी आफ्नै जमीन छ । केही जग्गा अन्न अँधिया बुझाउने गरी लिनुभएको छ । यसरी लिइएको र आफ्नै जमीनमा उन्नत प्रकारको घाँस रोप्न थालेपछि उहाँलाई व्यावसायिक गाईपालन गर्ने जोश र जाँगर झनै बढेको छ । “जैया घाँस भएपछि पराल पनि चाहिएन,” माबोले भन्नुभयो – “नयाँ घाँसहरु उम्रिदै र बढ्दैछन् । यिनीहरु काट्ने अवस्थामा पुगेपछि अरु केही चाहिन्न ।” 

थर्पु दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अगुवाइमा याङवरक गाउँपालिका वडा नं ४ र ५ मा गाईपालन शुरु भएको केही वर्ष बित्न लाग्यो । सहकारीकै कारण व्यावसायिक गाईपालन फस्टाएको यहाँका कृषकहरुको भनाइ छ । “गाईपालन मेरो पुख्र्यौली पेशा होइन, मेरा बुबाआमालाई गाईवस्तु पालनमा कुनै चासो थिएन,” माबोले भन्नुभयो – “तर, मलाई सहकारीले गाईपालनमा उत्प्रेरित ग¥यो । कुनै पनि वस्तु उत्पादनमा अरुसँग प्रतिस्पर्धा गर्नुपर्ने रहेछ भन्ने ज्ञान दियो ।” माबोले थप्नुभयो – “पशु नश्ल सुधार, पोषक घाँस रोपण, भकारो सुधार लगायतका कार्यबाट गाईपालन र दूध उत्पादनमा हाम्रो क्षेत्र व्यावसायिक बनेको छ ।” व्यावसायिक गाईपालनकै लागि रु. १ लाख मूल्य तिरेर एक माउ गाई इलामबाट समेत खरिद गरी ल्याउनुभएको थियो, माबोले । अहिले त्यही गाईको बाच्छी बेच्न मिल्ने भएको छ । राम्रो मूल्य पाउने भएपनि गाईपालनलाई व्यावसायिक बनाउन बाच्छी नबेच्ने सुनाउनुहुन्छ उहाँ । 

पाँचथरको याङवरक गाउँपालिका वडा नं ४ र ५ का कृषकहरुले थर्पु दुग्ध उत्पादक सहकारी संस्था मार्फत झण्डै ५०० लिटर दूध स्थानीय डेरीमा जम्मा गर्न थाल्नुले गाईपालनको व्यावसायिकतालाई पुष्टि गर्छ । थर्पु दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष छविलाल पोखरेलले भन्नुभयो – “सहकारीले व्यावसायिक गाईपालन र दूध उत्पादनको थालनी गर्‍यो । यस कार्यमा सहकारीलाई नै माध्यम बनाएर सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिने काम भयो ।” यहाँका ७० जनाभन्दा बढी कृषक अहिले व्यावसायिक दूध उत्पादक बनिसक्नुभएको छ । यो सङ्ख्या निरन्तर बढिरहेको छ । देख्दा सामान्य लाग्छ तर, एउटा सहकारीको माध्यमबाट यतिको सङ्ख्यामा कृषकहरु दूध उत्पादनमा व्यावसायिक बन्नु सामान्य कुरा नभएको याङवरक गाउँपालिकाका स्थानीय नेत्रप्रसाद कोइरालाको भनाइ छ । 

स्थानीय कृषकहरुले २०६९ सालमा थर्पु दुग्ध उत्पादक सहकारी संस्था स्थापना गर्नुभएको थियो । पच्चीस जनाबाट शुरु भई हाल २०७ जना शेयर सदस्य रहेको यस सहकारी मार्फत पशुपालन, पशु आहारा, पशुका रोगको पहिचान र निदान, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु विभिन्न परियोजनाले सञ्चालन गरेका थिए । नेपाल राष्ट्र बैंकको ‘ग्रामीण स्वाबलम्बन कोष’ले प्रदान गरेको रु २० लाख ऋण नै यहाँको व्यावसायिक गाईपालनको आधार रहेको सहकारीका अध्यक्ष पोखरेलको भनाइ छ । ऋणलाई सदुपयोग गर्दै इलामको शान्तिडाँडाबाट १४ वटा उन्नत जातका माउ गाई खरिद गरी गाउँमा भित्र्याएर व्यावसायिक दूध उत्पादनको थालनी गरिएको पोखरेल बताउनुहुन्छ । थर्पु मै डेरी स्थापना हुनु पूर्व यहाँ उत्पादित दूध हिलिहाङ गाउँपालिका–३ गोपेटारमा रहेको डेरीमा पु¥याई बिक्री गरिन्थ्यो । दूध उत्पादन बढेसँगै थर्पु मै दुई वटा डेरीसमेत स्थापना भइसकेका छन् । 

दुई वर्षअघि जिल्ला पशु विकास कार्यालयले सहकारीसँगको साझेदारीमा यहाँ विभिन्न टोलमा पशु स्वास्थ्य शिविर चलाएको थियो । पोखरेलले भन्नुभयो – “पच्चीस जना अगुवा कृषकबाट शुरु भएको पशु स्वास्थ्यमा सुधार गर्ने अभियानले सहकारीका सबै सदस्यहरुमा चेतना विस्तार भयो । पूरै गाविसमा उन्नत प्रजातिका घाँस लगाइयो । पशु नश्ल सुधार र गोठ सुधार गरियो ।” शिविरमै उन्नत पोषक घाँस तथा गाईका दाना, चकलेट लगायत प्रोटिनयुक्त वस्तु समेत कृषकहरुलाई वितरण गरिएको थियो । स्थानीय अग्निप्रसाद पोखरेलले भन्नुभयो – “चकलेटले दूध उत्पादनमा वृद्धि हुनाका साथै गाईको दूधमा फ्याट बढी हुन थाल्यो । कोरली गाई छिट्टै गोरु लाग्न थाले ।” 

शिविरकै क्रममा कृषकहरुलाई गाईमा लाग्नसक्ने भ्यागुत्ते, चरचरे, नाम्ले जस्ता रोग र किर्ना उपियाँ लगायतबाट बचाउने उपायबारे जानकारी दिइएको थियो । यस्ता रोग नियन्त्रण गर्ने औषधि वितरणका साथै औषधि प्रयोग गर्ने तरीकासमेत सिकाइएका कारण गाईको स्वास्थ्यमा समस्या नआएको कृषकहरुको भनाइ छ । “‘गोठदेखि ओठसम्म’ कसरी स्वस्थ राख्ने भन्ने विषयमा जानकारी दिइयो, हामीले गाईवस्तुको स्वास्थ्य, भकारो सुधार, गोठ व्यवस्थापन, बत्तीको व्यवस्था समेत गरेका छौं,” कृषक पोखरेलले भन्नुभयो – “गाईलाई गीत सङ्गीत सुनाउँदा बढी दूध दिने रहेछ भन्ने कुरा हामीले व्यवहारबाटै पुष्टि गर्न पायौं ।” सहकारीको समन्वय र सक्रियता तथा जिल्ला पशुसेवा कार्यालय र उन्नति परियोजनाको सहयोगले एक लिटर दूध पनि नबेच्ने केही कृषकले अहिले १० लिटरभन्दा माथि दूध बेच्न थालेको सहकारीका अध्यक्ष पोखरेल बताउनुहुन्छ । 
दूग्धजन्य पदार्थको उत्पादन पनि सँगसँगै 

स्थानीय डेरी सञ्चालक द्वय चन्द्रमणि ढुंगाना र दुर्गा सुवेदी केही कृषकले २० लिटरसम्म दूध बेच्ने गरेको बताउनुहुन्छ । “कृषकहरुले १९ लिटरसम्म दूध बेच्ने गरेका छन्,” डेरी सञ्चालक ढुंगानाले भन्नुभयो – “सत्तरी जनाभन्दा बढी कृषकले व्यावसायिक गाईपालन गरेर दैनिक डेरीमा दूध ल्याउँछन् ।” दैनिक झण्डै ५०० लिटर दूध ढुंगाना र सुवेदीले सञ्चालन गर्नुभएको डेरीमा जम्मा हुने गरेको छ । यहाँ उत्पादित दूध ल्याक्टो र फ्याटका आधारमा प्रतिलिटर रु. ३० देखि ३५ मा सहकारी तथा डेरीले खरिद गर्ने गरेका छन् । 

यसरी सङ्कलित दूध केही स्थानीय थर्पु बजारमा खपत हुन्छ भने बाँकी दूधबाट घिउ, छुर्पी, ललिपप लगायत दूग्धजन्य वस्तु उत्पादन गर्न थालिएको डेरी सञ्चालक ढुंगानाको भनाइ छ । दूध बिक्री गर्ने बजार नभएपछि दुग्धजन्य पदार्थ उत्पादन गर्न थालिएको हो । यहाँ उत्पादित दूग्धजन्य वस्तु जिल्ला बाहिर र विदेशमा बिक्री हुने गरेको छ । 

आफूहरुलाई जागरुक बनाई थर्पु दुग्ध उत्पादन सहकारी संस्थाले व्यावसायिक गाईपालनतर्फ डोहो¥याइरहेका बेला जिल्ला पशुसेवा कार्यालय र उन्नति परियोजनाले गरेको सहयोगले ठूलो टेवा पुगेको कृषकहरु बताउँछन् । उनीहरुको साझा निष्कर्ष छ – “हामीलाई व्यावसायिक दूध उत्पादनमा सहकारीले अग्रसर गरायो, अरु निकायहरुबाट मद्दत मिल्यो । अब यहाँ उत्पादित दूध सरकारले उचित मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइदिनु पर्छ । कृषि र पशुपालनलाई सम्मानजनक पेशाको रुपमा स्थापित गर्नुपर्छ ।” 

भकारो सुधारमा नमूना 

यहाँ पुग्ने जो कोहीले देख्न सक्छ – गाईको पक्की गोठ । पक्की गोठमा भकारो सुधार समेत गरिएको छ । मल खाल्डोमा जम्मा हुन्छ भने मूत्र ट्याङ्कामा । अन्यत्र जस्तो यहाँ मल जथाभाबी फालिन्न । मललाई खाल्डोमा कुहाएर मात्रै खेतबारीमा हाल्ने गरिएको छ भने मूत्रलाई अलैँचीका रोग कीरा नियन्त्रण तथा मलखादको रुपमा प्रयोग गर्ने गरिएको छ । यहाँका अधिकाँश कृषकले गाईमा कृत्रिम गर्भाधान शुरु गरेका छन् । स्थानीय मनोज पोखरेलले भन्नुभयो – “कृत्रिम गर्भाधानबाट जन्मेका बाच्छी चाँडै हुर्कने, धेरै दूध दिने र रोगको सङ्क्रमण हुने सम्भावना कम हुने रहेछ ।” केही वर्षमा यहाँका सबै गाई कृत्रिम गर्भाधानबाट जन्मेका मात्रै हुने कृषक सोमनाथ पोखरेलको दावी छ । व्यावसायिक गाईपालन, दूध उत्पादन र डेरी व्यवस्थापन गरेको भन्दै थर्पु दुग्ध उत्पादक सहकारी संस्थालाई याङवरक गाँउँपालिकाले चालु आर्थिक वर्ष रु दुई लाख बजेट समेत छुट्टयाइदिएको छ । 

***


© People to People Media 2016. All rights reserved.