Sat, 16th Feb 2019

इतिहासबाट किन नसिक्ने ?

युवराज-संग्रौला | Published on 2019-01-22 |

एक जमाना थियो । चीन, दक्षिण एसिया र मध्य एसियालाई जोड्ने प्राचीन सिल्क रोडको मुहान "होतान" जल्दोबल्दो आक्रामक ढंगले उदाइरहेको स्लामिक धर्मको सेनाबाट आक्रान्त भयो । इरानलाई हराइ इस्लामीकरण गरेपछि, यस्ले होतानलाई कब्जा गर्‍यो । सिल्क रोड अवरुद्ध भयो ।

सियानबाट चिनियाँ सम्राटले वाङ्ग सुयानको नेतृत्वमा एउटा ३६ जनाको टोली ल्हासा हुँदै गारोङ्ग (केरुङ्ग) बाट काठमाडौं पठाए । यो मिसन काठमाडौंमा नौ महिना बस्यो । यस्ले नेपालीलाई कागज बानाउन सिकायो । बिस्तारै कागज मगधमा निर्यात हुने वस्तु बन्यो । नेपालबाट उनका सामग्री, कागज र तरबार मगधमा निर्यात हुन्थे र चाँदी र सुनका सिक्का तिब्बतमा । बिस्तारै ल्हासा, काठमाडौं, वनारस, लखनउ, लाहौर, काबुल, तेहरान हुँदै नयाँ सिल्क रोड तयार भएको थियो । नेपाल केन्द्र बन्यो । नेपाल धनी भयो । 
१. व्यापारीक मार्गको यो विकासले काठमाडौं एउटा वैभवशाली सभ्यताको केन्द्रमा विकास भयो । 
२. नेपालले ल्हासा र वनारस जाँदा व्यापारीहरु नलुटिउन् भनी सुरक्षा गार्डको व्यवस्था गरिदिएको थियो । 
३. नेपालले निर्यातमुखी व्यापार गर्थ्यो । नेपाल धनी थियो । सुन चाँदीका टक काट्थ्यो ।
४. तिब्बत र मगधमा नेपालको पैसा चल्थ्यो । त्यसै अरनिकोलाई लगिएको थिएन चीनमा कला बिस्तारका लागि ।

धनी नेपालले उत्तर र दक्षिण जोडेको थियो इतिहासमा । उत्तर र दक्षिणको व्यापारबाट नेपाल धनी हुनसक्छ भन्ने तथ्य एकपटक स्थापित भैसकेको कुरा हो । सन् ६४० मा चीनका सम्राटले नेपालमार्फत मगदमा सम्बन्ध बिस्तार गर्न मिसन पठाएका थिए । समुन्द्र गुप्तले नेपालमार्फत चीनसँग सबन्ध बनाउने प्रयास गरेका थिए । चीनको मिसन मगधमा थुनिँदा नरेन्द्रदेवले मगधमा आक्रमण गरी उद्धार गरेर चीन पठाइदिएका थिए ।

हामी दुई देशका बीचमा सन्तुलनको इतिहास बनाई छिमेकीहरुलाई जोड्ने भूमिका निभाएको राष्ट्र हौं, इतिहासमा । तर, अहिले फेरि इतिहासलाई बिर्सन थालेका छौँ । सन् १७९२ मा बुद्धिले काम गरी चीनसँग लडाइँ हुने अवस्थालाई टार्न सकेको भए बेलायतको मार खाई देशलाई सकुशल जोगाउन सकिन्थ्यो । त्यसपछि कति खेल्यो बेलायतले ?  किन इतिहासबाट नसिक्ने ?

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायका सामुन्ने लम्पसार परेका केही मित्रहरुले सन् १९९० को दशकमा नवउदारवाद रोप्नुभयो । जसले गर्दा देश विस्मयको चङ्गुलमा फस्यो । संविधान बनाउँदा अनेक तिकडम यिनैले गरे । अब फेरि देशलाई पश्चिमी पुँजीवादी अहङ्कार भरिएको रणनीतितर्फ ठेलिँदैछ जस्तो लाग्न थालेको छ । किन तेसो गरिँदैछ ? फेरि चीनलाई पछाडि धकेली पश्चिमी शक्तिसँग रोमान्सको मौसम सिर्जना गर्ने रहर बढ्न लागेको जस्तो आभाष किन हुँदैछ ?

१. अहिले वामपन्थी सत्तालाई इन्डो प्यासिफिक रणनीति, रायसाना डायलग, एसिया प्यासिफिक समिट, तिब्बतिलाई अमेरिकी सहयोग र संसदमा व्यक्तिले आणविक भट्टी खोल्न पाउनेजस्ता विधेयक ल्याएर फेरि नेपाललाई अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको केन्द्र बन्ने खतरातिर ठेल्न कोही लागेको प्रतित हुन्छ । के तेस्तो भैरहेको हो ? एकथरीलाई बन्दुक बोकाउने र अर्कोलाई धर्म बोकाउने खेल को खेलिरहेको छ?

२. सन् २०१६ को रायसाना डायलगले चीनको बेल्ट एन्ड रोडलाई विश्व व्यवस्था भत्काउने षड्यन्त्र हो भन्दै यसलाई संक्रमणकालीन विध्वंसको उपाधि दियो । यो चीन र एसियालाई प्रभावमा राख्ने पश्चिमी उन्मुख थिङ्क ट्याङ्क हो । नेपालको सहभागीताको आवश्यकता किन छ यसमा ? नेपालको आर्थिक विकासको अवसरलाई किन बर्बाद गरिदैछ फेरि ?बेल्ट एन्ड रोडको अवसरलाई किन समाप्त गर्ने खेल हुदैछ ?

३. चीनलाई चिड्याउने प्रयत्न किन हुँदैछ ? किन चीनलाई नेपालको सहयोगी देशको हैसियतबाट पर ठेलेर, उस्को स्वार्थमात्र हेर्न बाध्य पार्ने परिस्थितिको सिर्जना गरिँदैछ ? ऐलेको समयमा चीनका करासामा बसेर चीनलाई नजरअन्दाज गर्नु मुर्खता हुनेछ । नेपालको विकासमा चीनको उदार लगानी आवश्यक छ । (विस्तृत व्याख्या साउथ एसिया चाइना जिओ इकोनोमिक्समा हेर्नुहोस्)

४. राजा महेन्द्र यसै बिन्दुमा चुक्दा नेपाल चीनमा खम्पाहरुले आक्रमण गर्ने भूमिमा प्रयोग भयो । के हामी अर्को गल्ती गर्दै छौं ?
अहिले नबोले फेरि कहिले बोल्ने ? अब राष्ट्रको हितमा स्वतन्त्र बहस आवश्यक भैसकेको जस्तो लाग्छ । बुद्धिजिवीको अब होश खुलोस् ।

(पूर्व महान्यायाधिवक्ता संग्रौलाको फेसबुकबाट)

***


© People to People Media 2016. All rights reserved.