Sat, 23rd Mar 2019

कतारलाई रेमिट्यान्सको सम्बन्धमा सिमित राख्नु हुँदैन

खाडीका पर्यटक नेपाल ल्याउन विशेष पहल गर्नुपर्छ । प्रवासी नेपाली फर्किहाल्ने वातावरण बनेको छैन ।

भलाकुसारी | Published on 2019-02-16 |

कतारले पटक पटक नेपालसँगको सम्बन्धलाई श्रम र रेमिट्यान्सभन्दा माथि लैजाने इच्छा जनाएपनि नेपालले त्यसलाई महत्त्व नदिएको जानकारहरुको गुनासो छ । दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन, श्रम र रेमिट्यान्सको सम्बन्धबाट अब व्यापारिक साझेदार मुलुक बन्न नेपालले के गर्नुपर्छ ? भन्नेबारेमा केन्द्रित रहेर विगत १२ वर्षदेखि कतारलाई आफ्नो कर्मभूमि बनाएका राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ, प्रोफेसर मोहम्मद रमजान अलि मियाँसँग गरिएको कुराकानीः

आजको दिनमा कतारमा नेपाली कामदारको अवस्था कस्तो छ ?

आजको सम्बन्धबारे केही बोल्नु अगाडि विगतबारे हामीले केही जान्नुपर्छ भन्ने लाग्छ । सन् १९८० को दशकदेखि नै नेपालीहरु श्रमका लागि कतार पुगेको पाइन्छ । सन् १९९५ मा नेपाल र कतारबीच हवाई सम्झौता भयो । सन् १९९६ मा उडान सुरु भयो । त्यसपछिका दिनमा नेपालीहरु श्रमका लागि कतार जाने क्रम बढ्दै गयो । त्यसअघिसम्म अरब जाने भनिन्थ्यो । अरब भनेको खाडीका कुनै पनि मुलुक हुनसक्थ्यो । 

संख्यात्मक हिसाबले कतारले सन २००६ मा एशियन गेम सफलतापुर्वक सम्पन्न गरेपश्चात नेपालीहरु त्यहाँ जाने क्रम बढेको पाइन्छ। त्योबेला नेपालमा पनि एउटा संक्रमणकालीन अवस्था सकिएर नयाँ व्यवस्थाको सुरुवात हुँदैगर्दा एकैवर्ष १ लाख नेपालीहरु पुगेको पाइन्छ। सन् २००७  सम्म यो संख्या करिब ३ लाख पुगेको तथ्यांकले देखाउंछ।  

नेपालमा भर्खरै द्वन्द रोकिएर नयाँ व्यवस्थाको सुरुवात हुँदै गर्दा कतारले विकासको फड्को मार्दै थियो । सन् २००७ मा कतारमा औंलामा गन्न सक्नेगरी नेपाली व्यवसायी थिए । त्योबेला अधिकांश नेपाली श्रमिकहरु अदक्ष कामदारमा गनिन्थे र आजको दिनमा पनि झन्डै ७० प्रतिशत नेपाली कामदार अदक्ष कामदारमा गनिन्छन् । आजको दिनमा कतारमा नेपालीहरु पूर्वाधारको क्षेत्रमा, निर्माण, कृषिको क्षेत्रमा छन् ।  

अहिले कतारमा अर्धदक्ष नेपाली कामदारको संख्या बढिरहेको छ । कतार एयरवेज, अन्य परियोजना, रेल प्रोजेक्ट लगायतका योजना र पछिल्लोपटक फुटबल स्टेडियम निर्माणमा नेपाली कामदार छन् ।   

अहिले नेपाली व्यवसायीहरुको संख्या पनि बढिरहेको छ । कतारमा भएको नेपाली व्यवसायीहरुको संघ 'नेपाली कतार व्यवसायी संघ' मा झन्डै सयको हाराहारीमा सदस्य छन् । पर्यटन सेवा,होटल, शिक्षा, कामदार आपूर्ति गर्ने कम्पनी, आइटी, ट्राभल एजेन्सी, इन्जिनियरिङ क्षेत्रमा नेपालीहरुको व्यवसाय छ । त्यस्तै नेपालीहरु कतारको सरकारी कर्मचारी, प्राध्यापक, डाक्टर, चार्टड एकाउन्टेन्ट लगायतका क्षेत्रमा जागिरे छन् । समग्रमा भन्दा कतारको प्रत्येक क्षेत्रमा नेपालीहरु संलग्न छन् र नेपालीले आफ्नो स्तरमा वृद्धि गर्दै लगेको देखिन्छ । 

तपाईंले नेपालीहरुको स्तर वृद्धि हुँदैछ भन्दै गर्दा त्यहाँ नेपाली श्रमिकको सम्मान छैन, श्रम शोषण छ भन्ने कुरापनि उत्तिकै आउँछन् । यथार्थ के हो ?

कतारमा नेपाली श्रमको सम्मान छ/छैन भनेर भन्नलाई हामीले श्रम सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड हेर्नुपर्ने हुन्छ । कतारले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा श्रम ऐन नै संशोधन गरेको छ । 

कतारको तुलनामा अन्य देशमा श्रमिकहरु बढी शोषित भएको मैले पाएको छु । कतारमा विगतमा केही बहुराष्ट्रिय कम्पनी आए, जसले कामदारलाई गर्ने व्यवहार राम्रो देखिएन र कुनै समयमा समस्या देखिएको पनि हो । तर प्रत्यक्ष कतारीद्धारा सञ्चालित कम्पनीमा यो समस्या पाइएको छैन। 

कतारमा  नेपाली श्रमिकहरु मेहनती, इमान्दार हुन्छन् भन्ने मान्यता छ । नेपालीप्रति विश्वास अत्यधिक छ । तर, जसरी अन्तर्राष्ट्रिय मिडियाहरुमा नेपाली श्रमिकलाई शोषण गरिएको भन्ने कुराहरु ल्याइयो वास्तवमा त्यो एउटा फन्डामात्रै थियो । नेपाली श्रमलाई कतारबाट मात्रै नभई खाडी मुलुकबाट नै विस्थापित गर्नका लागि यस्तो हत्कण्डा मच्याइएको हो । 

कुनै बेला कतारमा मृत्यु हुनेको संख्या बढेको हो । तर, त्यसको कारण सवारी दुर्घटना थियो । अधिकांश नेपालीहरुले सवारी दुर्घटनामा ज्यान गुमाएको पाइएको छ । नेपालीहरुले कतार जानुअघि लिनुपर्ने सामान्य शिक्षापनि नलिई गएकाले पनि त्यस्तो घटना बढेको पाइएको छ । आजसम्म कुनैपनि कतारीले नेपालीको हत्या गर्‍यो भन्ने कुरा सुन्नमा आएको छैन । बरु कहिलेकाहीं नेपालीबाटै वा अन्य देशका नागरिकबाट नेपालीको हत्या भएको सुनिन्छ ।

तर, कतार भन्नेबित्तिकै आजपनि लासको बाकसको कुरा पहिले आउँछ, नकि रेमिट्यान्स वा अन्य कुरा ।यस्तो हुनुमा यहाँले के कारण देख्नुहुन्छ ?

कतारमा समस्या छैनन् भन्ने होइन । त्यहाँको समस्यालाई मैले दुई पाटोमा छुट्याउँछु । कतारमा भएका कतारी कम्पनीहरुमा श्रमको शोषण,हत्या,मृत्यु भन्ने कुरा आजसम्म सुनिएको र भेटिएको छैन। 

जति समस्या आएका छन्, ती विदेशीहरुले कतारमा स्थापना गरेका कम्पनीका हुन् । समयमा तलब नपाउने, कन्ट्रयाक्टको अवधि सकिएपछि घर फर्कन नपाउने, आवासीय परिचय पत्र नपाउने जस्ता समस्या यी कम्पनीमा देखिए । 

तर, सन् २०१६ मा श्रम सम्झौता संशोधन भएपछि धेरै समस्या समाधान भएका छन् । ऐनमा नै कामदारलाई बैंकिङ प्रणालीमार्फत तलब दिनुपर्ने कुरा व्यवस्था भएपछि अब समयमा तलब नपाउने भन्ने समस्या नै रहेन ।

ऐनमा नै आवासीय परिचयपत्र नबनाउने कम्पनीलाई कारबाही हुने र भारी जरीवाना तिर्नुपर्ने भएपछि अब आवासीय परिचय पत्र नपाउने भन्ने समस्या रहेन । त्यस्तै कामदारसँग नै पासपोर्ट हुनुपर्ने ऐनले व्यवस्था गरिदिएको छ । अब यसले पनि सम्झौता अवधि सकिएपछि घर फर्किन नपाउने भन्ने हुँदैन । अक्टुबर २८, २०१८ देखि कतारबाट बाहिरिँदा एक्जिट भिजाको नचाहिने व्यवस्था भएको छ । विगतमा ओभर-स्टे हुँदा कामदारले प्रतिदिन १० रियालका दरले हजारौं जरिवाना तिर्नुपर्थ्यो । अब त्यो जरिवाना कम्पनीले नै तिर्नुपर्छ । र, हिजो ओभर-स्टेका कारण कामदार कालोसूचीमा पर्थे, अब त्यो पनि नहुने भयो । 

बाकसको कुरामात्रै किन बढी सुनियो ? भन्ने कुराले ठूलो अर्थ राख्छ । कतार एउटा सानो मुलुक हो । तर पनि कतारले विश्वकप २०२२ को आयोजना गर्दैछ । कतार अब पेट्रोलभन्दा ग्यासमा केन्द्रित हुँदैछ र विश्व मानचित्रमा शक्तिशाली मुलुकको रुपमा उदय हुँदैछ । कतारको प्रगति हिजो ठूला र बलिया भनिने राज्यलाई चित्त बुझेको छैन । त्यसैले गर्दा कतारबाट नेपाल भित्रिने सीप, रेमिट्यान्सलाई बिर्साउने गरी लासको बाकसका कुरा हुन्छन् । जानेर या नजानेर केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमको चपेटामा नेपाली मिडिया पनि परेका छन् । यसले गर्दा हाइलाइट हुनुपर्ने कुरा ओझेलमा परेका छन् । 

कतारसँगको सम्बन्धलाई श्रम र रेमिट्यान्समा मात्र सिमित नराखेर कतारको समृद्धिबाट फाईदा लिन नेपालले आफ्नो रणनीतिमा  परिवर्तन पनि गर्नुपर्ने हो कि ?

सम्माननीय राष्ट्रपतिको भ्रमणको क्रममा नेपाल र कतारबीच ३ वटा विषयमा सम्झौता भएको छ । कृषि र खाद्यान्न, सुरक्षा मामिला, अफिसियल, कुटनीतिक र विशेष राहदानीबाहकलाई बिना भिजा कतार प्रवेशबारे, सुरक्षाको मामिलामा नेपाल र कतारबीच सम्झौता भएको छ । 

कृषि सम्बन्धमा भएको सम्झौता नेपालभन्दा पनि कतारको लागि बढी महत्त्वपूर्ण छ । कतारले भर्खरैमात्र आर्थिक नाकाबन्दी झेलिरहेको छ ।यस्तोमा नेपालले खाद्यान्न, फलफुल, तरकारी लगायतका कृषिजन्य उत्पादनहरु कतारमा आपूर्ति गर्न सक्छ । कतारलाई चाहिने पिउने पानी, अलैंची, जडिबुटी लगायतका उत्पादनसमेत नेपालले आपूर्ति गर्न सक्छ । 

अब नेपालले कतारबीच श्रम र रेमिट्यान्स मात्र नभई आर्थिक कुटनीति तर्फ ध्यान दिनुपर्छ । विगतमा अदक्ष कामदारका रुपमा कतार प्रवेश गरेकाहरु अहिले दक्ष जनशक्ति बनेका छन् । उनीहरु दक्ष बन्नलाई नेपालले एक रुपैयाँ खर्च गर्नुपरेको छैन । त्यो जनशक्तिले समृद्ध नेपालको निर्माणका लागि ठूलो महत्व राख्छ । अब नेपालले कतारलाई श्रममात्र बेच्ने होइन, यहाँको स्प्रिङ्ग वाटर,कृषिजन्य उत्पादन आपूर्ति गर्न सक्नुपर्छ ।

नेपालको समस्या भनेको सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने परिपाटी हो । अर्को कुरा, नेपालमा लगानी गर्नलाई यहाँको कानुन अत्यन्त घुमाउरो भएको विदेशीहरुको भनाई छ । कतारका ठूला लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहन्छन् । तर, यहाँको कानुनले गर्दा उनीहरुले असहज महसुस गरिरहेका छन् । 

ठूलो लगानीकर्ता कम्पनीको रुपमा परिचित डायर कतारले विश्वका विभिन्न देशमा लगानी बढाईरहेको छ तर नेपालमा आउनका लागि उनीहरुले यहाँको कानुन देखाउने गरेको पाइएको छ । लन्डनमा कतारले गरेको लगानीबाट नेपालले केही सिक्नुपर्छ ।    

त्यस्तै नेपालले कतार लगायतका खाडी मुलुकका अरेबिकलाई पर्यटक भनेर चिन्न सकेको छैन । नेपाल आउने युरोप अमेरिकाका पर्यटकहरुले गर्ने खर्चको तुलनामा कतार लगायतका खाडी मुलुकका पर्यटकले गर्ने खर्च अत्यधिक हुन्छ । नेपालले यो विषयलाई बुझ्न सकेको छैन । एउटा कतारी नेपाल आउँदा उसलाई महँगो आलिशान होटल चाहिन्छ । खाना उस्तै चाहिन्छ ।चढ्नको लागि ल्याण्डक्रुजर नै चाहिन्छ ।किनकि, उनीहरुको खर्च गर्ने क्षमता अत्यधिक हुन्छ । आखिर त्यस्तो पर्यटक ल्याउन नेपालले किन सक्दैन ? यसको उत्तर अब खोज्नुपर्छ ।     

नेपालमै रोजगारी सृजना गर्ने र विदेशमा भएका नेपालीलाई पनि नेपाल नै भित्र्याउने सरकारको रणनीति छ, अहिलेकै अवस्थामा प्रवासी नेपाली नेपाल फर्कने सम्भावना कति छ ?

आजको अवस्थामा प्रवासी नेपाली फर्किहाल्ने अवस्था छैन । प्रवासमा भएका नेपालीहरु त्यहाँको रोजगारी छाडेर तत्कालै नेपाल आइहाल्ने अवस्था पनि छैन । फर्कने वातावरण बनिसकेको छैन । 

नेपालीहरुमा रहेको विदेश जानुपर्छ भन्ने तीव्र इच्छामा कमी आउन सकेको छैन । नेपालमा राज्यले विकल्प दिइसकेको अवस्था छैन । राज्यले सामाजिक सुरक्षा कोष लगायतका योजनाहरु ल्याएको छ तरपनि यहीँ आएर श्रम गर्न,व्यवसाय गर्नका लागि वातावरण बनिनसकेको प्रवासी नेपालीहरुको बुझाई छ । 

कुनैबेला सामान्य जागिरेको रुपमा कतार पुगेकाहरु अहिले स्थापित व्यवसायी बनिसकेका छन् । जनकपुरका दुई दाजुभाई अब्दुल हफिज र अब्दुल बासिद ले कतारमा संचालन गरेको 'बेला' को भन्ने ब्राण्ड कतारमा स्थापित ब्राण्ड हो । एयर कन्डिसनको क्षेत्रमा कतारमा उनीहरुको यो व्यवसाय एक नम्बरमा छ । नेपालीसँग केही गर्नसक्ने क्षमता त रहेछ । यस्तो क्षमता भएकाहरुलाई राज्यले चिन्न ढिलाई गर्नुहुँदैन ।

(बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलीले गरेको कुराकानीको सम्पादित अंश - सं)

***


© People to People Media 2016. All rights reserved.