Sat, 23rd Mar 2019

अमेरिकामा बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाइने

बुद्ध पूर्णिमा अन्तर्राष्ट्रिय ध्यानको दिवसको रुपमा मनाउने थालनी भएको छ

भलाकुसारी, अमेरिका | Published on 2019-02-19 |

भर्जिनिया राज्यस्थित स्प्रिंगफिल्ड शहरमा शनिबार एक कार्यक्रमबीच बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने घोषणा गरिएको छ । योसँगै बुद्ध पूर्णिमा अन्तर्राष्ट्रिय ध्यानको दिवसको रुपमा मनाउने थालनी भएको छ ।

भर्जिनियाको लाउडनका काउन्टीका प्रतिनिधि, सिनेटर, हाउसका प्रतिनिधि र ओशो तपोवन नेपालका संस्थापक, बोधिसत्व स्वामी आनन्द अरुणले वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने संयुक्त रुपमा घोषणा गरेका थिए । उनीहरुले एक घोषणापत्रमा हस्ताक्षर गरी सो घोषणा गरेका हुन् । आनन्द अरुणको पहल, भर्जिनियास्थित नेपाली समुदाय तथा ओशो सन्यासीको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा काउन्टीतर्फबाट बोर्ड अफ सुपरभाइजर फिलिस जे र्‍यानडल, भर्जिनिया हाउस अफ डेलिगेटका जन जे बेल, राज्य सिनेटर जेनिफर बोयस्को, बोधिसत्व स्वामी आनन्द अरुण, नेपाली समुदायतर्फबाट भर्जिनियाका हरि शर्मा र ओशो सन्यासी सुवर्ण पन्तले अन्तर्राष्ट्रिय ध्यान दिवस (इन्टरनेशनल मेडिटेसन डे) घोषणापत्रमा हस्ताक्षर गरेका थिए । वैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, निर्वाण प्राप्त र देहान्त भएको थियो ।

काउन्टीका तर्फबाट कार्यक्रममा बोल्दै वोर्ड अफ सुपरभाइजर र्‍यानडलले अन्तर्राष्ट्रिय ध्यान दिवसको लागि घोषणापत्रमा हस्ताक्षर गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफ्नो राज्यको लागि ध्यानको आवश्यकता औंल्याएकी थिइन् । उनले भर्जिनियामा आत्महत्या दर उच्च रहेको जानकारी दिँदै ध्यानबाट न्युनीकरण गर्न सकिने आशा व्यक्त गरिन्।

यसैगरी कार्यक्रममा सिनेटर बोयस्को, हाउस अफ डेलिगेटका जे बेलले अन्तर्राष्टिय ध्यान दिवसको एजेन्डा अगाडि बढाएकोमा सराहाना गर्दै नेपाली समुदाय र आनन्द अरुणलाई धन्यवाद दिए । साथै उनीहरुले ध्यानमा रुचिरहेको धारणा व्यक्त गरेका थिए । स्वामी अरुणले विगत केही वर्षदेखि नै बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउन पहल गर्दै आएका थिए ।

कार्यक्रममा आनन्द अरुणले व्यस्त जीवनमा ध्यानको महत्व तथा व्यस्त समयमा कस्ता ध्यान विधिको प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिए । उनले अमेरिकामा सबै सुख, सुविधा भए तापनि ध्यानको अभावका कारणले मानिसको जीवन तनावग्रस्त रहेको बताए । “दैनिकरुपमा थोरै समय पनि ध्यान गर्ने हो जीवनशैलीमा धेरै परिवर्तन आउँछ” उनले भने । स्वामी अरुणले आफ्नो लागि यो ऐतिहासिक दिन भएकोउल्लेख गरे । बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा अन्तर्राष्ट्रिय मान्यता दिनको लागि नेपाल सरकारले नै संयुक्त राष्ट्र संघमार्फत पहल गर्नुपर्ने बताउँदै उनले भारतले विश्व योगा दिवस जस्तैगरी नेपालले पनि विश्व ध्यान दिवसको एजेन्डा अगाडि बढाउनसके संसारभर नेपाल तथा बुद्धको प्रतिष्ठा बढ्नुको साथै विभिन्न क्षेत्रबाट नेपाललाई फाइदा पुग्ने बताए । कार्यक्रममा सहभागीहरुले करिब दश मिनेट ध्यानसमेत गरेका थिए थिए ।

कार्यक्रमपछि आनन्द अरुणसँगको कुराकानीमा र्‍यानडल, बोयस्को र जे बेलले ध्यान तथा बुद्धको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । आनन्द अरुणले ओशो तपोवन, बुद्ध र नेपालको बारेमा जानकारी दिए । उनले कार्यक्रममा उपस्थित सबैलाई ओशो तपोवनमा आउन आमन्त्रणसमेत गरे ।

विगत ५० वर्षदेखि सद्‍गुरु ओशोसँग जोडिएका आनन्द अरुणले दर्जन बढी ओशो कम्युन तथा सेन्टर स्थापना गरेका छन् भने अमेरिकामा विगत ११ वर्षदेखि ध्यान तथा योग शिविर सञ्चालन गर्दै आएका छन् । उनले स्थापना गरेका ओशो आश्रममा ओशो मात्र नभई विभिन्न धार्मिक तथा आध्यात्मिक गुरुले प्रतिपादन गरेका ध्यान तथा योग विधि प्रयोग गरिँदै आएको पाइन्छ । 

स्वामी अरुणले अमेरिकाको क्यालिफोर्निया राज्यमा ओशो निर्भना नामक कम्युनको स्थापना गरेका छन् भने टेक्सास राज्यको ड्यालसमा अर्को कम्युन निर्माणाधीन अवस्थामा छ । ओशो निर्भना रजनिशपुरम बन्द भएपछि अमेरिकामा स्थापना भएको पहिलो कम्युन हो ।

***


© People to People Media 2016. All rights reserved.